धनगढी,६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् ।
सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा शनिबार धनगढी आएका नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाे बताएका हुन् ।
दुईपटक सम्म बिघटन भएको संसद अदालतले पुनःस्थापना गरिदिएको भन्दै पाैडेलले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भने, ‘अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं । त्यसैले संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।’
संसदको काम कारबाही अगाडि बढाएर सरकारले आफ्नो क्षमता देखाउनुुपर्ने पौडेलको भनाइ छ । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुुक्रबार काठमाडौँ फर्किएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने प्रतिक्रिया दिएका थिए ।
पौडेलले अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिममा ठूलो जनधनको क्षति गरेकाले सरकारले तत्काल प्याकेजमै राहतका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । त्यसका लागि आफूले सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताए ।
नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा धाँधली गरेर कि्रयाशील सदस्यता वितरण गर्दै अलोकतान्त्रिक तरिकाले अधिवेशन गरिएको आराेप लगाए ।
उनले जिल्ला सभापतिदेखि पार्टीका नेता कार्यकर्तालाई बाइपास गरेर अलोकतान्त्रिक तरिकाबाट गरिएको अधिवेशन स्थगित गरेर पुुनः गरिनुपर्ने बताए ।
उनले पार्टीको महाधिवेशन समेत निर्धारित समयमै गर्नूपर्ने बताउँदै नेतृत्वले आलटाल गरेमा समस्या निम्तिने जनाए ।









