बझाङ,४ कार्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार र राहतका लागि बजेट व्यवस्थापन गरिएको बताएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका क्रममा बझाङ पुगेका प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री लगायतको टोली बाढी पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि आज बझाङ पुगेको थियो । टोलीलाई जिल्लाको बस्तुस्थिति मानवीय क्षतिका बारेमा विपद् व्यवस्थापन समिति जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी गराएका थिए ।
त्यसैगरी नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङका तर्फबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा ९ जनाको मृत्यु भएको र २१ जना बेपत्ता रहेकाले उनीहरूको खोजी गर्न र पीडित पक्षलाई राहत व्यवस्थापन गर्नुपर्ने माग गरे ।
घरविहीन भएकालाई घरनिर्माण तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल‚ जलविद्युत्, खानेपानी छिटाछरितो मर्मत तथा सञ्चालन गर्नुपर्ने लगायत ६ बुँदे मागपत्र बुझाएको छ । मागपत्र बुझ्दै देउवाले बझाङमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले पिडितको उद्धार र राहतका लागि बजेट व्यवस्थापन गरेको जानकारी गराए ।
थलारा गाउँपालिका– ४ डिख्लामा प्रधानमन्त्री देउवाले बाढीपहिरोको क्षतिको अवस्था बुझ्न जाने कार्यक्रम रहे पनि त्यहाँ हेलिकप्टर अवतरण हुन सकेन ।
प्रधानमन्त्री आउने भनेपछि त्यो क्षेत्रका मानिस बिहानैदेखि हेलिप्याड बनाउन जुटेका थिए । स्थानीय शिक्षक मोहन साउदले भने, ‘पहिरो पीडितहरू प्रधानमन्त्रीलाई आफ्ना समस्या सुनाउन ठिक्क परेका भए पनि प्रधानमन्त्री नआएपछि आक्रोशित भएका छन् ।’
जिल्लाको सबैभन्दा बढी मानवीय क्षति भएको तथा अति प्रभावित क्षेत्र थलारामा हेलिकप्टर अवतरण हुन नसकेपछि सदमुकामस्थित सेनाको ब्यारेकमै अवतरण गरिएको थियो । प्रधानमन्त्री देउवाले बझाङस्थित सेनाकै हलमा जिल्लास्तरका प्रशासन, सुरक्षानिकाय र जिल्लाका प्रमुख व्यक्तिसँग रिपोट लिएका छन् । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री प्रेम आले लगायत थिए ।







