बर्दिया,३ कार्तिक । अविरल वर्षासँगै कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रका दर्जनौं बस्ती डुबानमा परेका छन् । बाढीका कारण यस क्षेत्रका एक हजारभन्दा बढी परिवार विस्थापित भएकाे जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार बाढीबाट एक हजारभन्दा बढी घर परिवारका करिब पाँच हजारजना विस्थापित भएका छन् । राजापुरको भदाली नालाबाट पसेको बाढीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको हो ।

गेरुवाको वनकट्टीबाट पसेको बाढीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको प्रजिअ सुनारले जानकारी दिए । बाढीपीडितहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले उद्धार गरिरहेकाे प्रहरीले जनाएको छ ।

बाढीबाट यस क्षेत्रमा अहिलेसम्म मानवीय क्षति नभए पनि घर तथा अन्नबालीमा भने ठूलो हानि नाेक्सानी भएको छ ।

अबिरल वर्षाले धानबालीलाई ठूलो क्षति पुर्‍याएको छ। खेतमा काटेर राखेको धानबाली खेतमै उम्रिन थालेपछि किसान चिन्तित भएका छन् ।

किसानहरुले आफ्ना समस्या बुझेर राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । जिल्लाकाे ठाकुरबाबा, मधुवन र राजापुर नगरपालिकाले क्षतिको विवरण कार्यालयमा पेश गर्न आग्रह गरेका छन् ।