बुटवल,२३ असोज ।
रुपन्देहीको कञ्चन गाउपालिकाको रुद्रपुर स्वास्थ्य चौकी खोप केन्द्रमा संचालित कोभिड १९ बिरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ ।
१८ बर्ष भन्दा माथीका सबैले खोप लगाउन पाउनु पर्छ भन्दै स्थानीयहरुद्धारा खोप केन्द्रमा भिड गरेपछि खोप लगाउने कार्य स्थगित गरिएको हो ।
रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज विमला पाण्डेद्धारा प्रकाशित सूचनामा प्राबिधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि खोप लगाउने कार्य स्थगित गरिएको जनाइएको छ ।
१८ बर्ष भन्दा माथीका सबैलाई खोप लगाउने भनि सूचना गत असोज १९ गते जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समिति,रुपन्देहीको बैठकको निर्णय अुनसार स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाको निर्देशन र जिल्ला स्वास्थ्य कार्यलय,रुपन्देहीको सर्कुलर कमोजिम असोज २२ र २३ गते भेरोसिल खोप लगाउने तयारी थियो ।
आज दोश्रो दिन पनि खोप लगाउन बिहानै ५ बजे देखि खोप केन्द्रमा स्थानीयहरुको लाइन लागेको र उनिहरुले खोप लगाउने हो भने यहाँ आएका सबैले खोप लगाउन पाउनु पर्छ नत्र कसैलाई खोप लगाउन दिइदैन भन्दै स्वास्थ्यचौकीमा भिड गरे पछि खोप लगाउने कार्यक्रम स्थगित गर्नु स्वास्थ्य चौकीका इन्चार्ज पाण्डेले बताइन् ।
स्वास्थ्यचौकीमा आएको १ हजार ३ सय खोपले स्थानीयहरुको समस्यालाई सम्बोधन गर्न नसकिने र प्रर्याप्त खोप नभएकाले दशैपछि पुन खोप आएपछि सबैले खोप लगाउन पाउने आश्वाशन दिए पनि स्थानीयहरुले हुल हुज्जत गरेको उनको भनाइ छ ।
स्वास्थ्यचौकी ब्यबस्थापन समितिका पदाधिकारी र जनप्रतिनीधिहरुलाई खोप केन्द्रमा देखिएको समस्या समाधान गर्न अनुरोध गर्दा वडा अध्यक्ष दुर्गासिंह भण्डारी बाहेक कोही नआएको इन्चार्ज पाण्डेको गुनासो छ ।
कञ्चनमा शुक्रबार पहिलो दिन ७५० जनालाई खोप दिइएको र करिब टोकन पाएका ४ सय जनाले खोप लगाउन बांकी रहेको स्वास्थ्यचौकीले जनाएको छ ।






