दाङ, १५ असोज ।
जीपको ठक्करबाट सल्यानमा घाइते भएका पाँच छात्रामध्ये दुई जना छात्राको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका ६ बस्ने १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनिहरुको दाङ स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माले जानकारी दिए ।
घाइतेमध्ये १५ वर्षीया सुशीला नेपालीको दाङमा उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको र १८ वर्षीया मिना परियार र १८ वर्षीया दीपा बुढाथोकीलाई उपचारका लागि दाङ पठाइएको प्रवक्ता पौडेलले बताए ।
मृतक र घाइते सबै सल्यानको शारदा नगरपालिकाको वडा नं. १ स्थित शिबजन माद्यमिक विद्यालय सितलपाटीमा अध्यनरत छात्रा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान दश बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो ।
थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले शुक्रबार बिहान दश बजेतिर शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको बताइएको छ ।
चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच आक्रोशित स्थानीयले दिउँसो दुई बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् । जसले गर्दा सल्यानहुँदै दाङ आउने यातायातका साधन बीचमै रोकिएका छन् ।







