बुटवल,१५ असोज ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले जेष्ठ नागरिकहरुको संरक्षण र जीवन निर्वाहका लागि लुम्बिनी प्रदेश सरकार प्राथमिकताका साथ अगाडि बढेको बताएका छन् ।
३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार संघीय महिला तथा बालबालिका मन्त्रालयद्धारा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
जेष्ठ नागरिकहरूको अधिकार र संरक्षणलाई महत्व दिदै प्रदेश सरकारले कानून,महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय स्थापना गरी कार्य प्रारम्भ गरिएको बताउदै मुख्यमन्त्री केसीले ज्येष्ठ नागरिक वृद्धाश्रम सञ्चालनलाई अनुदानको व्यवस्था गरेको जानकारी गराए ।
हरेक स्वास्थ्य सँस्थामा जेष्ठ नागरिक वार्ड र बेड राख्ने व्यवस्था गरिएको बताउँदै उनले जेष्ठ नागरिकको जीवन यापनका लागि लुम्बिनी प्रदेश सरकारकारबाट ज्येष्ठ नागरिकको संरक्षणका लागि सञ्चालित बृद्धाश्रमलाई सहयोगको व्यवस्था गरिएको उल्लेख गरे ।
प्रदेश सरकारले जेष्ठ नागरिक मिलन केन्द्रहरूको स्थापना र सञ्चालनमा सहयोग गर्नुका साथै जेष्ठ नागरिक अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै मुख्यमन्त्री केसीले आगामि दिनमा जेष्ठ नागरिक सम्मान तथा संरक्षण कार्यक्रम प्रस्ताव गरिएको जानकारी गराए ।
रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा प्रदेशस्तरिय जेष्ठ नागरिक ग्राम निर्माण कार्य अगाडी बढेको बताउदै उनले जेष्ठ नागरिक केन्द्रित कोभिड १९ कार्यक्रम सञ्चालन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए ।







