बुटवल,१४ असाेज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रालयगत कार्यक्रमकाे समिक्षा चाैमासिक नभएर अब द्वैमासिक रूपमा गर्नुपर्नेमा जाेड दिएका छन् ।

वजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र जतिसक्दो धेरै लक्षित समुदायलाई लाभान्वित बनाउन पनि द्वैमासिक समिक्षा आवश्यक रहेको उनको भनाइ छ ।
शनिबार बुटवलमा आयाेजित लुम्बिनी प्रदेश समन्वय समितिकाे बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम बिगतमा प्रभावकारी हुन नसकेकाे भन्दै मुख्यमन्त्री केसीले कार्यक्रमकाे माेडल समय सापेक्ष र व्यबहारीक बनाउनुपर्ने आवश्यकता आैल्याए ।
तिन तहको सरकारसंग समन्वय गरेर समस्या समाधान गर्ने कार्यक्रमकाे उदेश्य रहे पनि बिगतमा त्यसाे हुन नसकेको भन्दै उनलेे आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरि काम गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको भन्दै त्यसबाट लक्षित बर्ग लाभान्वित हुनेगरि संरचना निर्माण र कर्मचारी व्यवस्थापन गर्नुपर्नेमा जाेड दिए ।
बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरूले भने कार्यक्रमकाे उदेश्य राम्रो भए पनि स्थानीय तहसम्म पुग्न नसकेको गुनासो गरेका थिए ।
साे अवसरमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका व्यवस्थापक चिरञ्जीवी तिमिल्सिना,सुवास यादवले कार्यक्रम हालसम्मको प्रगति र भावी याेजना बारे जानकारी गराएका थिए ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयका सचिव,मन्त्रालयहरूका सचिव तथा समन्वय समितिका सदस्यहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यकताकाे आधारमा कार्यक्रम बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जाेड दिएका थिए ।






