प्रकाश खनाल
बुटवल,१४ असोज ।
प्रतिपक्ष दल नेकपा एमाले र सत्तापक्षको टकराबका कारण लुम्बिनी प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ ।

बैठक सूचारु गर्ने बिषयमा सहमति हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको बैठक निरन्तर सुचना टास गरेर स्थगित हुदै आएको छ ।

गठबन्धन ४ दलको संयुक्त सरकार बनेपछि लुम्बिनीमा प्रतिपक्ष नेकपा एमालेले निरन्तर प्रदेश सभा बैठक अबरुद्ध गर्दै आएको छ ।

बुधबार दिउँसो १ बजेको लागि बोलाईएको प्रदेशसभाको बैठक पनि सुचना टासेर स्थगित भएको छ ।
प्रदेशसभाको अर्को बैठक असोज २० गते बस्ने गरि स्थगित गरिएको हो ।

एमालेको अबरोधका कारण पटक पटक स्थगित हुँदै आएको प्रदेश सभाको बुधबारको बैठक भने अबरोधका कारण भन्दा पनि एमालेको आग्रहमा स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा एमालेको विधान महाधिवेशनमा भाग लिन जानु पर्ने कारण जनाउदै प्रदेश सभा बैठकको मिति पछि सार्न माग गरेपछि असोज २० गतेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयद्धारा प्रकाशित सूचनामा जनाइएको छ ।

यसअघि भदौ ३१ गते बसेको प्रदेश सभाको बैठक एमालेको अबरोधपछि असोज ७ गते सम्मका लागि स्थगित भएको थियो । त्यसपछि बुधबारको लागि बोलाईएको बैठक पनि सुचना टास गरेर स्थगित भएको छ ।

प्रदेशसभाको नवौं अधिवेशन सुरू भएपछि पटक पटक गरेर ५ वटा बैठक चले पनि सबै बैंठकमा प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको छ ।

निरन्तरको संसद अवरोध र स्थगित हुदा संसदले गतिलिन सकेको छैन । यसको प्रत्यक्ष असर सरकार सञ्चालन र जनताको आवाज संसदमा उठ्न सकेको छैन ।

संसदमा पेस भएका महत्वपूर्ण विधेयकहरू छलफल हुन नपाइ अलपत्र परेको छ ।

प्रदेश राजधानीको नामाकरणसँग सम्बन्धित एक सहित सात विधेयक प्रदेश सभामा बिचाराधीन रहेको प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले जानकारी दिए ।

एमालेले कारबाही गरेका २ प्रदेश सभा सदस्यलाई पदमुक्त गरेको संसदमा जानकारी नगराएसम्म संसद चल्न नदिने एमामलेको अडान छ ।

प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका एमालेका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सत्तापक्ष लचिलो र सभामुखले आफ्नो भुमिका निर्वाह गर्न नसक्दा प्रदेश सभा अनिर्णयको बन्दी बनेको आरोप लगाए ।

निरन्तरको संसद अवरोध र स्थगित हुँदा सरकारले गति लिन सकेको छैन । शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै गठबन्धन सरकार संशोधित बजेट ल्याउने तयारीमा छ । तर प्रदेश सभा बैठक चल्न नसक्दा बजेट पेश हुन सकेको छैन ।

उता सत्ता पक्षले भने संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्षसँग अनौंपचारिक रुपमा निरन्तर संवाद भैरहेको दाबी गरेको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश सभाको बैठक सूचारु गर्ने बिषयमा प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल भैरहेको जानकारी दिए ।

एमालेले उठाएको मुद्धा अदालतमा पुगिसकेकाले त्यसको छिनोफानो अदालतलेनै गर्ने भन्दै उनले अदालतमा बिचाराधीन मुद्धाको बिषयमा सदनमा कुरा उठाउनु जायज नहुने बताए ।