बुटवल,१४ असोज ।
नेपाली काँग्रेस तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको बुधबार पदस्थापन भएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते भएको रुपन्देहीको तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गर्नुका साथै पदस्थापन गराइएको हो ।
नगर सभापति हरिलाल पाण्डे, उपसभापतिमा कल्याण प्रसाद पौडेल र माया चौधरी, सचिबमा प्रदिप कुमार थापा र हुमलाल पौडेल तथा सहसचिवमा दिपक थापा र रमेश पराजुली सहित निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण र निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्यालले खादा, अविर र प्रमाण पत्र प्रदान गरी सम्मान गरेको नेपाली कांग्रेस तिलोत्तमाले जनाएको छ ।
सो अवसरमा पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै तिलोत्तमामा नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गरे । आन्तरिक निर्वाचनका क्रममा भएका प्रतिस्पर्धालाई विर्सेर सबैलाई समेटेर अगाडी बढ्न नगर समितिलाई निर्देशन दिए ।
नगर सभापति हरिलाल पाण्डेले आगामी निर्वाचनमा तिलोत्तमा नगर र नगरका सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाए ।
नगर सभापतिका प्रत्यासी हरिप्रसाद तिवारीले निर्वाचनमा भएको प्रतिष्प्रधालाई सहजरुपमा लिएर सबै एकजुट भएर तिलोत्तमामा नेपाली काँग्रेसलाई बलियो र शसक्त पार्टी बनाउन सबै जुटनुपर्ने बताए ।
सो अवसरमा नगर समितिका निवर्तमान सचिव शिब प्रसाद गैरेले निर्वाचित सचिव द्वय प्रदिप कुमार थापा र हुमलाल पौडेललाई नगर समितिको माइन्युट बुक हस्तान्तरण गरेका थिए ।







