बुटवल,९ असोज ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको पालिका अधिवेशनमा रुपन्देहीका ५ वटा पालिकामा सर्वसम्म नेतृत्व चयन भएको छ ।

रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका ,मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्बिरोध निर्वाचित भएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित भएका छन । शनिबार नै सम्पन्न अधिवेशनबाट अर्का उम्मेदवार ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका हुन् । रोहीणी गाउँपालिकाका अन्य पदमा भने सर्वसम्मत भएको थियो ।

कुल १२५ क्षेत्रीय प्रतिनीधि रहेको रोहिणीमा सभापतिमा निर्वाचित योगीले ७० मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार खाँले ५४ मत प्राप्त गरेको मतदान अधिकृत टिकाराम शर्माले जानकारी दिए ।

यसैबीच नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवलमा भएको नगरको मतदानमा ५४५ मत खसेको छ । ५६९ मतदाता रहेकोमा ५४५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

अबको केहि समयमा मुचुल्का र प्रकृया पुर्याएर मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले नागरिक जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाको मतदान सिद्धेश्वरी माध्यमिक बिद्यालयमा भएको थियो ।

मतदान दिउँसो साढे २ ः १७ बजेबाट सुरु भएको हो । पहिलो मतदाताका रुपमा नगर सभापतिका प्रत्यासी खेलराज पाण्डेले मतदान गरे भने दोस्रो मतदान अर्का प्रत्यासी रिता केसीले गरिन् ।