विराटनगर,३ भदौ ।
नेकपा एमाले विभाजनको असर प्रदेशहरुमा पनि देखिन सुरु भएको छ ।
पार्टी बिभाजन भएसँगै शेर बहादुर राई नेतृत्वको प्रदेश १ को सरकार संकटमा परेको छ ।
प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने तयारीमा लागेका छन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्, जसमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए । तर भीम आचार्य र जीवन घिमिरेसहित केही प्रदेश सभा सदस्यहरुले नेपाल समूह छाडेका छन् । तर अझै प्रदेशसभाका १५ जना प्रदेशसभा सदस्य आफूहरुसँग रहेको नेताहरुको दाबी छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउँछन् । एमाले समाजवादीका नेताहरुले दाबी गरे जस्तै १५ प्रदेश सभा सदस्यले नयाँ पार्टी रोजे नयाँ सरकार गठन सुनिश्चित हुने देखिन्छ ।
एमाले समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजेन्द्र राई पार्टी विभाजनको प्रकृया सकिएपछि प्रदेशमा गठबन्धनको नयाँ सरकार बन्ने बताउँछन् ।
९२ सदस्सीय प्रदेशसभामा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना प्रदेश सभा सदस्य रहेका छन् ।
नयाँ सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । कांग्रेस, माओवादी र जसपाका सबै गर्दा ३९ सांसद छन् । अर्थात नयाँ सरकार बनाउन एमालेका ८ सांसदले एमाले समाजवादी रोज्ने हो भने नयाँ सरकार बन्न सक्ने अवस्था रहेको छ ।
गठबन्धनको नयाँ सरकार बने कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र एमाले समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्रीका सम्भावित नाम हुन् ।
एमाले समाजवादीका नेताहरुले भने भीम आचार्य पार्टीमा आए उनी नै मुख्यमन्त्री बन्ने बताउँछन् ।
आचार्य नयाँ पार्टीमा नआए राजेन्द्र राई मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।
एमाले समाजवादीले नेतृत्व नपाएको अवस्थामा कांग्रेसले प्रदेशको नेतृत्व गर्नेछ । कांग्रेसले नेतृत्व गर्ने अवस्थामा कांग्रेस संसदीय दलका नेता राजिव कोइराला मुख्यमन्त्री बन्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेकाले प्रदेश १ को मुख्यमन्त्रीमा भने माओवादी केन्द्रको दाबी नरहेको जनाइएको छ ।
गठबन्धनको सरकार निर्माण हुँदा प्रदेश १ को नेतृत्व एमाले समाजवादीले पाउने नेताहरु बताउँछन् ।








