– यम पी भुसाल

ऊ मन्त्री भो!

ऊ मुख्यमन्त्री भो!

ऊ प्रधानमन्त्री भो!

राष्ट्रपति भो!

सचिव भो!

विज्ञ भो!

सल्लाहकार भो!

के के भो भो!

जे भए नि

ऊ सँग एउटा फोटो खिच्ने मन छ!

छेउमा परेको म!

योग्यताले सधैं जिस्काइरहने म!

आफूसँग फोटो खिच्न कोही खोज्दैनन्!

योगदान समर्पण र लगानीको के हिसाब भो र?

उसले उसलाई मन्सायो, पद पायो!

उसलाई उता पठाउँदा उसले उति योगदान दियो रे!

उसलाई त उसले ऊ पनि दियो रे!

उसकी उसले पनि आवश्यक योगदान गरेको चर्चा छ!

राजनीतिक अराजनीतिको चर्चा छ!

सुशीलदा स्मरणमा,

किसुनजी मस्तिष्कमा,

गणेशमान जी र सान्दाजु, सुवर्ण र स्वाभिमान खोपातिर राखेर

लोकतन्त्रका लागि उसले ठूलै श्रमदान गरेको पर्चा छ!

त्यो देखेपछि

एउटा अदना म

ऊ सँग एउटा फोटो खिच्ने मन छ!

अहिले ठूलै बिडम्बनाको चक्रब्यूहमा

उसको घर घडेरी त जाँदैन!

तर उसलाई ओलीले समेत व्यङ्ग्य

ठोक्ने अवस्था आयो!

समय छउञ्जेल सुतेर बित्यो!

नबोली नचली आधा दशक बढी सुत्यो!

डिलमा पुगेर

पुनर्जीवनको माग सडकमा

घरमा

र अफिसमा खोजी भइरहँदा,

रानी साहेबको आदेश फरक छ!

‘यस्तो नखोज्नू!’

र पनि ऊ ऊ हो।

त्यसैले ऊ सँग एउटा फोटो खिच्ने मन छ।
साहित्यपाटीबाट