बुटवल,२९ साउन ।
लुम्बिनी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले योजनाको अनुगमन र मुल्याङ्कनमा कडाइ गर्न निर्देशन दिएका छन् ।
नवनियुक्त मन्त्रीको स्वागतमा शुक्रबार मन्त्रालयमा आयोजित स्वागत तथा मन्त्रालयका गतिबिधिहरुबारे जानकारीमूलक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विकास निर्माणका योजनाहरुको अनुगमन र मुल्याङ्कन प्रभावकारी नहुदा गुणस्तरीय काम हुन नसकेकाले योजनाहरुको अनुगमन र मुल्याङ्कनलाई चुस्त दुरुस्त बनाउन कर्मचारहरुलाई निर्देशन दिएका हुन् ।
टुक्रे योजनाले समृद्धिको लक्ष हाशील गर्न नसक्ने भन्दै उनले आवस्यकताको आधारमा समानुपातिक समावेसी सिद्धान्तलाई आत्मसाथ गरी सन्तुलित रुपमा योजना बनाउनुपर्नेमा जोड दिए ।
उनले योजना बनाउदा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र स्थानीय निकायहरुसँग समन्वय गरेर बनाउनुपर्ने आवस्यकता औल्याए ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिब भिमार्जुन पाण्डेले मन्त्रालयका गतिबिधि र भावि योजनाबारे जानकारी गराएका थिए ।








