बुटवल,२२ साउन । भन्सार छलेर भित्राइएको ठूलो परिमाणको माेबाइल सहित नवलपूर प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपूरले जनाएको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठ रहेका छन् ।
बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित उनिहरूलाई जिल्लाकाे विनयीत्रिवेणी नगरपालिका–१ मा पर्ने राजमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिए । प्रहरीले मोबाइल सहित प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरूकाे साथबाट विना बिल भर्पाइका ५९५ थान मोबाइल बरामद भएको डिएसपी गिरीले जानकारी दिए ।

सुरक्षा र भन्सार छली रोक्ने उद्देश्यले सरकारले एमडिएमएस प्रणाली लागु गर्दै मोबाइलको आईएमईआई नम्बर इन्ट्री अनिवार्य गरे पनि लुकिछिपी अवैध रुपमा मोबाइल भित्रिने क्रम भने अझै रोकिन सकेको छैन ।