बुटवल,१५ साउन । लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना प्रदेश सभा सदस्यकाे पद गुमेको छ ।
प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साल लाई प्रदेश सभा सदस्य र पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरेको जनता समाजवादी पार्टीको पत्रकाे आधारमा प्रदेश सभा सचिवालयले आज अपरान्ह सुचना प्रकाशित गरेसँगै उनिहरूकाे प्रदेश सभा सदस्य पद गुमेको हो ।
जनता समाजवादी पार्टी प्रदेश संसदीय दलका नेता सहसराम यादव र प्रमुख सचेतक पुरमती ढेँगा मगर सहित पार्टीका नेताहरू उनिहरूलाई पार्टीले कारबाही गरिएको पत्र बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।
प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको निति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधेको र स्पष्टीकरणकाे चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनिहरूलाई कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।
उनिहरूलाई जसपाकाे केन्द्रीय कार्यकारी समितिकाे बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियोे ।
पार्टीको निर्णय विपरीत जसपाका चार जना प्रदेश सभा सदस्य प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण उनलाई कारबाही नगरिएको यादवले बताए ।
ण






