बुटवल,१५ साउन ।
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पदबहाली कार्यक्रममा मुख्यमन्त्री सहित प्रदेश सरकार एक जना प्रतिनिधि पनि उपस्थित भएनन् ।

बिदा भएर गएका प्रदेश प्रमुखलाई तामझमका साथ स्वयम् मुख्यमन्त्री शंकर पोखरेल र अन्य मन्त्रीहरू पुगेर भव्य बिदाइ गरे पनि नयाँ प्रदेश प्रमुख अमिक शेरचनको पदबहाली तथा स्वागतमा मुख्यमन्त्री, मन्त्री कोही पनि सहभागि नभएका हुन् ।

प्रदेश प्रमुख शेरचनको स्वागतमा गौतमबुद्ध विमानस्थलमा माओवादी केन्द्रका नेता कार्याकर्ताहरू र संघीय सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी आशमान तमाङले स्वागत गरे ।

निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवको बिदाइमा मुख्यमन्त्री पोखरेल सहित आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य लगायतका सरकारका प्रतिनिधिहरू सहभागि भए पनि नयां प्रदेश प्रमुखको पदभारग्रहण कार्याक्रममा सरकारको प्रतिनिधि नदेखिनुलाई पोखरेल नेतृत्वको सरकारको लोकतान्त्रिक आचरणसँग जोडेर टिप्पणी हुन थालेको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भने मुख्यमन्त्री सहित सबै ान्त्रीहरु बार्षिक समिक्षामा भएकोले सहभागि नभएको प्रतिक्रिया दिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले प्रदेश प्रमुखको पदभार ग्रहण तथा स्वागत कार्याक्रममा सरकारका मन्त्री अथवा प्रतिनिधिहरू नदेखिनु पूर्वाग्रही सोंच भएको बताए । उनले भने, ’प्रदेश प्रमुख नियुक्त भैसकेपछि त उ सबैका साझा हो, तर सिंगो सरकार नै अदेखा जस्तो गरेर नआउनु आफ“ अनुकुलको मर्यादा कायम गरेको जस्तो भयो ।’

उनले प्रदेश प्रमुख संस्थालाई दलीय संस्थाको रुपमा लिएको भन्दै बिदाइ गर्दा गएको र स्वागत गर्न नगएको बताए । यसअघिका प्रदेश प्रमुख एमालेको सिफारिसमा बनेका थिए भने । लुम्बिनीमा एमालेकै नेता मुख्यमन्त्री छन् ।