“संविधानको आफु अनुकुल व्याख्या गरेर संविधानको मर्म र भावना बिपरितको कार्य गर्न नहुने”
बुटवल,१५ साउन ।
नवनियुक्त लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेशको अस्थायी मुकाम बुटवलमा पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संविधानको आफु अनुकुल व्याख्या गरेर संविधानको मर्म र भावनामाथि चोट पुर्याउने प्रबृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
संविधान भन्दा माथि कोही पनि नहुने भन्दै उनले संविधानले निर्दिष्ट गरेको जिम्मेवारी र दायित्व अनुसार आफु अगाडी बढ्ने बताए ।
समाजका लागि केही गर्ने भन्दा पनि पहिले आफु बन्ने अनि आफ्ना नजिककालाई बनाउने प्रबृत्तिका कारण जनतामा निराशा उत्पन्न भएको भन्दै प्रदेश प्रमुख शेरचनले त्यस्तो प्रबृत्ति त्याग्नुपर्ने आवस्यकता औल्याए ।
नेपालले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वमै नमुना र आफ्नै मौलिक खालको भएको बताउदै उनले त्यसलाई हामिले कत्तिको उपयोग गर्न सक्यौ भन्ने बिषयमा समिक्षा गर्ने बेला आएको बताए ।
देशका विकट ठाउँका जनताको अवस्था अझै पनि दयनिय रहेको भन्दै उनले तीनिहरुको अवस्था देख्दा हामि यो आशनमा बस्दा आत्मग्लानी हुने उल्लेख गरे ।
प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएर पनि मुलुकले त्यसको सदुपयोग गरेर लाभ लिन नसक्नु चिन्ताको बिषय भएको भन्दै उनले देश भित्र प्राप्त प्राकृतिक स्रोत साधनको समुचित उपयोग गरेर मुलुक समृद्ध बनाउने तर्फ लाग्नुपर्ने बिचार व्यक्त गरे ।






