बुटवल,१४ साउन । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरेकाे गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ ।

प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको निति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणकाे चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको संसदीय दलका नेता यादवले बताए ।

उनिहरूलाई जसपाकाे केन्द्रीय कार्यकारी समितिकाे बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियोे ।
पार्टीको निर्णय विपरीत जसपाका चार जना प्रदेश सभा सदस्य प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण उनलाई कारबाही नगरिएको यादवले बताए ।