बुटवल,१४ साउन । बुटवल उपमहानगर भित्र खुलेआम सडेगलेको माछामासु बेच्ने गरेको फेला परेको छ ।
सडेगलेकाे माछामासु बिक्री गरेकाे पाइए पनि त्यस्तो कार्यमा संलग्न व्यवसायीलाई भने बजार अनुगमन टोलिले उन्मुक्ति दिएको छ ।
बुटवल उपमहानगरपालिकाको बजार अनुगमन समितिले आज गरेको अनुगमनका क्रममा सडेगलेका माछामासु बिक्रीवितरण गरेको पाइए पनि अनुगमन टोलीले त्यस्तो माछामासु बिक्री गर्ने व्यवसायीहरूलाई चेतावनी मात्र दिएर छाडिएको हो । बुटवलको नेपालगन्ज रोड र भुड्की चोकका मासु पसलेहरुले खुल्लेआम सडेगलेको माछामासु बेच्दै गरेको समितिले फेला पारेका थियोे ।
अनुगमन टोलीले बुटवलको नेपालगन्ज रोडमा रहेको सद्दाम मासु तथा माछा पसलबाट ३८ किलो कुहिएको माछा र अस्पताललाईन स्थीत भुडकी चोकमा रहेको ताहिर मासु तथा माछा पसलबाट २५ किलो खसी बोकाको सडेको टाउको फेला पारेको अनुगमन समितिले जनाएको छ ।
अनुगमनका क्रममा बिभिन्न मासु पसलहरुबाट सडे गलेका तथा अत्यन्त फोहर गरेर बिक्रि गर्न लागिएकाे २० किलो माछा तथा मासु टोलीले नष्ट गरेको छ ।
बुटवल उपमहानगर पालिकाका उप प्रमुख एवं बजार अनुगमन समितीका संयोजक गुमा देवी आचार्यको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण मन्च, मासु ब्यवसायीका प्रतिनिधी सहितको टोलीले उपमहानगर क्षेत्रका मासू पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा खसी बोका भन्दै बाख्रीको मासु समेत बेच्द्यै गरेको फेला परेका थियो ।
अनुगमनका क्रममा मासू पसल ब्यवस्थीत नगरिएको अत्यन्त फोहर गरि सरसफाईको कुनै ब्यवस्था नगरिएको बासी र सडेको मासु खुल्ला राखेर बेचबिखन गरिएको पाईएको उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख, पशु चिकित्सक झविन्द्र बञ्जाडेले जानकारी दिए ।
उनलेे विभिन्न छ वटा पसलबाट करिब ८० किलो सडेको तथा अस्वस्थकर माछा मासु नियन्त्रणमा लिएर नष्ट गरिएको बताए ।
बुटवल उपमहानगरले बजार अनुगमन गरे पनि गलत गर्नेमाथि कावाही नगर्ने गरेका कारण उपभोक्ताहरूले स्वस्थकर खाद्य सामग्री उपभाेग गर्नबाट बञ्चित हुनुपरेको उपभोक्ताहरुको गुनासो छ ।






