बुटवल,१४ साउन । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशका दुई जना निवर्तमान प्रदेश सभा सदस्यकाे पद कायम रहने या नरहने भन्ने आज टुंगो लाग्ने भएको छ ।

दल त्याग गरेकाे आधारमा प्रदेश सभा सदस्य पद गुमाएका लुम्बिनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित दिनेश पन्थी र दधिराम न्यौपाने (माधव शर्मा) ले आफुहरू
माओवादी केन्द्रमै रहेको भन्दै प्रदेश सभा सदस्यमा पुनर्वहालीकाे माग गर्दै सर्वोच्चमा दिएको रिटमा आजका लागि पेशी ताेकिएकाे हो ।
नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पार्टीलाई सर्वोच्च अदालतले पूर्ववतः पार्टीमा फर्काएपछि नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य पन्थी र न्यौपाने तीन महिनापछि आफुहरू माओवादी केन्द्रमै रहेकोले अन्तरिम आदेशमार्फत प्रदेश सभा सदस्यमा पुनर्वहालीकाे माग गर्दै यही साउन ७ गते सर्वोच्चमा रिट दिएका थिए ।
रिटमा आज पेशी ताेकिएकाेले उनिहरूकाे रिटमा अन्तरिम आदेश जारी हुने नहुने आजै टुंगो लाग्न सक्ने सम्भावना रहेको बताइएको छ ।
पार्टीको निर्देशन नमानेको आराेपमा प्रदेश सभा सदस्य पद गुमाएका राष्ट्रिय जनमाेर्चाबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको रिटमा बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियोे ।
उनिहरूकाे रिटमा अन्तरिम आदेश जारी हुने नहुने ले हाल अल्पमतमा रहेको शंकर पाेखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारकाे भविष्यसँग जाेडिएकाेले सर्वोच्चकाे निर्णयलाई महत्त्वका साथ हेरिएकाे छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका पुर्व मन्त्री टाेप बहादुर रायमाझी सहित चार जना निवर्तमान संघीय सांसदहरू पनि आफुहरू माओवादी केन्द्रमै रहेको दाबी सहित सांसद पदमा पुर्वहालीकाे माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका छन् । ।
राजनीतिमा चतुर खेलाडी मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उनीहरुलाई देखाएको ललिपपकाे लाेभमा परेर पार्टी परित्याग गरेका कारण प्रदेश सभा सदस्य पद गुमाएका पन्थी र न्याैपाने गुमेको प्रदेश सभा सदस्य पद पुनर्वहालीकाे माग गर्दै सर्वोच्चमा जानुलाई माओवादी केन्द्रका नेताहरूले भने पदलाेलुपकाे आराेप लगाएका छन् ।