धनगढी,२५ जेठ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।
आज बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन्
कुल ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गरे भने बिपक्षमा जम्मा ९ मत परेकाे थियो ।
मुख्यमन्त्री भट्टकाे पक्षमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जना प्रदेश सभा सदस्यले मत दिएका छन् ।
मतदानमा नेपाली कांग्रेसका १२ जना प्रदेश सभा सदस्य भने तटस्थ बसेका थिए भने नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे । नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
तर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरू रहेका छन् ।








