दाङ,१७ जेठ । लुम्बिनी प्रदेशको रिक्त एक पदका लागि आज भएको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो १ बजेसम्म प्रदेश सभातर्फ ३ र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मतदान गर्न बाँकी रहेको छ ।
दिउँसो १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मतदान गरेका छन् भने प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरेकाे निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै कोभिड तर्फको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनप्रतिनिधि गरी २४ जनाले मतदान गरेका छन् । हालसम्म स्थानीय र प्रदेशतर्फ गरी २९२ जनप्रतिनिधिले मतदान गरिसकेका छन् । जसमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मतदान नगर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
मतदानलगत्तै निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।

राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस सहितका दलको गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।