सुर्खेत,३ बैशाख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । प्रदेश सभामा विश्वासको मत पाएपछि शाहीको पद जोगिएको हो ।
३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास प्राप्त गर्न मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत आवस्यक थियो । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् ।
प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।
६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।
एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ’फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।