Share this News on Social Networking Pages

बुटवल, ३ चैत ।
कानुनी रुपमा जातका आधारमा गरिने भेदभाव अन्त्य भएको बर्षौ बित्यो तर, व्यवहारमा सहरदेखि गाउँसम्म भेदभाव कायमै देखिएको एक कार्यक्रममा वोल्ने वत्ताहरुले बताएका छन ।

जातका आधारमा गरिने भेदभाव अन्त्यकालागि सचेत नागरिक र मानव अधिकारकर्मीहरु अभियानमा सहभागी हुनुपर्ने उनिहरुको जोड छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मंगलवार बुटवलमा आयोजना गरेको शान्ति समाज र राष्ट्रिय दलित पत्रकार संघ, नेपालका नवनिर्वाचितहरुलाई सम्मान कार्यक्रममा सहभागिहरुले मानव अधिकार र दलित अधिकार एक अर्काका परिपुरक रहेको भन्दै जातीय भेदभाव अन्त्यका लागि अधिकारकर्मीहरु मिलेर अभियान सञ्चालन गर्नुपर्ने आवस्यकता औल्याए ।

जातीय बिभेद बिरुद्ध बुटवलले देशमै नमूना काम गरेको भन्दै उनिहरुले अब राष्ट्रिय स्तरमा रचनात्मक अभियान थालिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले जातीय भेदभावलाई कानुनले बर्जित गरेको भए पनि व्यवहारमा व्यवहारमा अन्त्य हुन नसकेको बताए ।

तत्कालिन सशस्त्र द्धन्द्धकालमा भन्दा अहिले झन विभेदका घटना सार्वजनिक भएको उनको भनाई थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले समाजमा विभिन्न धार्मिक मूल्य र मान्यतालाई आधार बनाएर विभेद गर्ने गरिएको बताउदै धर्मले भने कुनै पनि आधारमा विभेद नगरेको बताए ।

अर्का प्रदेशसभा सदस्य, दीपा विश्वकर्माले नेपालमा विस २०२० सालमै कानुनी रुपमा छुवाछुतमुक्त भए पनि समाजमा विभिन्न धार्मिक मूल्य र मान्यतालाई आधार बनाएर विभेद गर्ने गरिएको बताइन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनोद पहाडीले २१ औं शताब्दिमा जातीय भेदभावका विरुद्ध अभियान चलाउनु पर्ने अवस्था आउनु आफैमा विडम्बना भएको बिचार व्यक्त गरे ।

शान्ति समाज रुपन्देहीका अध्यक्ष डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा उप सभापति कृष्ण भट्टराई लगायतले आ आफ्नो भनाई राखेका थिए ।