सुर्खेत २५ फागुन ।
विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार दैलेखकी एक महिलाले आफ्ना ४ छाेराछाेरिसहित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।
दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको र अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।
प्रहरी निरिक्षक साहुका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा फेला परेको छ ।
आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।
स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारे अनुसन्धान भैरहेको जनएको छ ।
बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको स्थानीयकाे सूचनाकाे आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।