मोरङ,१० फागुन ।
हत्याको घटनामा दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै मृतकका परिवार र आफन्तले सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरी नाराबाजी गरेका छन् ।
मृतकका परिवार तथा आफन्तहरुको घेराउ र नाराबाजीका कारण उर्लाबारीको अवस्था तनावग्रस्त बनेको छ ।
हत्याको घटनामा सत्यतथ्य लुकाएर तथ्यहीन फाइल खडा गरी दोषीलाई उन्मुक्ति दिन खोज्ने प्रहरी निरीक्षक उद्धव पोखरेललाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने र घटनाको छानबिन गरी दोषीलाई कारबाहीका लागि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्नुपर्ने परिवारजनले माग राखेका छन् ।
गत पुस ५ गते स्थानीय गोदाबरी अस्पतालमा उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बाँस्तोलाको शव परिवारजनले फेला पारेका थिए । मृतकका काका युवराज बाँस्तोलका अनुसार उर्लाबारी–४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका मेहरमान दर्जीले प्रविणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । ‘दर्जी, दिपेश पौडेल, राजेश रणपहेलीसँगै प्रविणले उर्लाबारीको पूर्वपट्टीको बस स्ट्यान्ड नजिकको सौरभी होटलमा मद्यपान गरेर सबैजना सँगै दर्जीको डेरामा गएका थिए,’ युवराजले भने, ‘पुस ५ गते बिहान ११ बजे प्रविणको मृत्यु भएको फोन आयो ।’
गत वर्षको होलीमा दर्जीसँग प्रविणको झगडा भएको र त्यसकै रिसइबीका कारण योजनावद्ध ढंगले हत्या गरेको युवराजको दाबी छ ।
सुरुमा प्रहरीले अनुसन्धान भइरहेको भन्दै घट्ना भएको केही दिन जाहेरी पनि लिन नमानेको र दबाब दिएपछि पुस २२ गते उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता गराउन सफल भएको मृतकका आफन्तहरुको भनाई छ ।
घटनाको भोलिपल्ट नै पक्राउ गरेका दर्जी, पौडेल र रणपहेलीलाई छाडिदिएकाले आफूहरु सशंकित भएको मृतकका काका युवराजले बताए ।
प्रहरी निरीक्षक पोखरेललाई पटक पटक अनुसन्धान कहाँसम्म पुग्यो र अदालतमा मुद्दा कहिले दर्ता हुन्छ भनी सोधखोज गर्दै आए पनि ‘कर्तव्य ज्यान मुद्दाका लागि प्रमाण नपुगेकाले पटकपटक सरकारी वकिलको कार्यालयबाट फाइल फिर्ता आएको भन्दै टारेको उनले बताए ।