Share this News on Social Networking Pages

विराटनगर,९ फागुन ।
सत्तापक्षकै सांसदहरुको अवरोधका कारण स्थगित भएको प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका बैठक बोलाएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले जानकारी दिए ।

यसअघि माघ २५ गते सत्तापक्षकै सांसदहरुको अवरोधका कारण बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठक पनि नेकपा ओली समूहका सांसदहरुले अवरोध गर्ने तयारी गरेको जनाइएको छ ।

गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई संसदीय दलबाट निलम्बन गरिएको निर्णय सभामुख भण्डारीले कार्यान्वयन नगरेसम्म संसद चल्न नदिने ओली समूहको अडान छ ।

ओली समूहका सांसदले पार्टी औपचारिक रुपमा विभाजित नभएसम्म बैठक चल्न नदिने अडान लिएका कारण आजको बैठक पनि चल्ने संभावना न्यून रहेको छ । यद्यपी बैठक चल्न सकेमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा यहि कार्यसूची तय भएर बैठक चल्न नसकेको कारण उक्त कार्यसूची आजका लागि सरेको हो । नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदहरूले मुख्यमन्त्री राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

नेकपाको केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए भने तयसको भोलिपल्टै तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

मुख्यमन्त्री राई बिरुद्ध दर्ता भएको अविस्वासको प्रस्ताव छल्न सत्ता पक्षकै सांसदहरुद्धारा संसद बैठक अवरुद्ध गरेको विपक्षी दलहरुको आरोप छ ।