कञ्चनपुर,५ फागुन ।
प्रतिनिधि सभा विघटनको बिरोमा नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा आयोजित बिरोध सभामा आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कञ्चनपुरको झलारी बजारमा विरोध ¥याली निकालिएको छ ।

बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेता तथा कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै बुधबार साँझ कञ्चनपुरको झलारी बजारमा नेपाली कांग्रेसले विरोध ¥याली निकालेको हो ।

‘डिलासैनी घटनाको निन्दा गर्छौं, अपराधीलाई कारबाही गर’, ’गुण्डाराज बन्द गर’ नारासहित कांग्रेसका कार्यकर्ता सडकमा आएका थिए ।

¥यालीपछि आयोजित कोण सभामा नेपाली कांग्रेसका नेताहरुले सत्ताको आडमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै निन्दा गरेका थिए ।

आक्रमण गर्नेहरुविरुद्ध कारबाही नगरे कांग्रेसका कार्यकर्ता चुप लागेर नबस्ने उनहरूले चेतावनी समेत दिए ।

मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश(एनपी) साउद सहभागी आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गरेपछि ६ जना कार्यकर्ता घाइते भएका थिए ।