Share this News on Social Networking Pages

बैतडी,५ फागुन ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश भट्ट रहेका छन् । घटनामा भट्टको संलग्नता पुष्टि भएपछि उनलाई सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिसोध साध्न भागरथीको हत्या गरेको प्रहरीसँगको बयानमा भट्टले स्वीकार गरेको प्रहरीले जनाएको छ । भागरथीको बुबाले आफ्नी फूपूलाई दुव्र्यवहार गरेकाले उनको हत्या गरेको भट्टले प्रहरी समक्ष बयान दिएको प्रहरीको दाबी छ ।

घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीका दाइले किटानी जाहेरीसमेत दिएको डीआईजी सुवेदीले बताए ।

प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मानसमेत गरेका छन् ।

माघ २१ गते स्थानीय सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा फेला परेको थियो ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा उनको शव फेला परेको थियो ।

पोष्टमार्टम रिपोर्टले भट्टको टाउको र हातमा चोट लागेको देखाएको थियो भने घाँटी थिचिएका कारण मृत्यु भएको भनेको थियो । घटनापछि प्रहरीले धनगढीस्थित कुकुर शाखाबाट ट्याकर डग मगाएको थियो, जसले अभियुक्त खोचलेक बजारतिर गएको संकेत गरेको थियो ।