Share this News on Social Networking Pages

बैतडी,२६ माघ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेको भन्दै परिवारले शव बुझ्न इन्कार गरेका छन् ।

शव बुझेपछि न्याय नपाइने आशंकामा दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको भागरथीका काका शंकर भट्टले बताए । ‘घटना र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने, ‘दोषी पत्ता नलागेसम्म शव नबुझ्ने निर्णयमा छौं ।’ घटनाको राजनीतीकरण भएर दोषी उम्किन्छन् कि भन्ने आशंकाले शव नबुझेको उनको भनाइ थियो ।

जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन ।

बिहीबार मृत भेटिएकी भागरथीको शव पोस्टमार्टमका लागि शुक्रबार साँझ अस्पताल ल्याइएको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी आइतबार घटनास्थल पुगेका छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक टोली यसअघि नै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

भागरथीका नजिकका साथी, आफन्तलगायतलाई घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबारसम्म १० जनासँग सोधपुछ गरिएको र प्राविधिक टोलीले मोबाइल कलडिटेल बुझ्ने काम गरिरहेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

भागरथीका हत्यामा संलग्नलाई कारबाही माग गर्दै आइतबार बैतडी लगायत देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

विद्यार्थी, शिक्षक, नागरिक अगुवालगायत स्थानीय सर्वसाधारणले दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिनुपर्ने माग गरेका छन् ।

स्थानीय सनातन धर्म माविमा १२ कक्षा पढिरहेकी भागरथीको शव बिहीबार बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो ।

अर्धनग्न अवस्थामा भेटिएको उनको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको निष्कर्ष छ । कपडाहरू च्यातिएको, शरीरमा चोट रहेको र योनीबाट अत्यधिक रक्तस्राव भएको अवस्थामा उनको शव भेटिएको थियो । घाँटीमा नीलडाम र मुखबाट रगतसमेत बगेको अवस्थामा शव फेला परेको थियो ।

बुधबार बिहान १० बजे विद्यालय गएकी उनी दिउँसो २ बजेतिर विद्यालयबाट केही साथीहरूसँगै घर जाने बाटोमै रहेको खोचलेक बजारमा देखिएकी थिइन् । साथीहरूसँग घर जान्छु भनेर हिँडेकी उनी बेपत्ता भएकी थिइन् ।