हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन
बझाङ,१४ माघ ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जना पक्राउ गरेको छ ।
नेपाल तरुण दल, छबिस पाथीभेरा गाउँपालिकाका सदस्य २३ वर्षीय सिंहको मंगलबार राती खुँडा प्रहार गरी हत्या भएको थियो ।
पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत रहेका छन् ।
हत्यामा वडाध्यक्ष अयडी चढ्ने से १प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई मंगलबारै राति सदरमुकाम चैनपुरको एक होटलबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए ।
हत्यामा संलग्न रहेको आशंका गरिएका सबै पक्राउ परिसकेको जनाउँदै खड्काले थप अनुसन्धान भइरहेको बताए ।
यसै बीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा स्थानीय वासिन्दाहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायातसमेत बन्द गराएका छन् । हत्याका अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गर्दै उनिहरुले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा हत्या भएको भन्दै संलग्नलाई उम्काउन प्रयास हुन सक्ने आशंका व्यक्त गरे । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्छ । यसमा हामीले निरन्तर खबरदारी गर्नै पर्छ,’ उनले भने ।
मंगलबार दिउँसो स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ ७ बजेतिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमै नै मृत्यु भएको थियो ।