Share this News on Social Networking Pages

महेन्द्रनगर,१० माघ ।
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनःस्थापना भएको बताएका छन् ।

मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको भन्दै महामन्त्री कोइरालाले संसद् पुनःस्थापनानै कांग्रेसको पहिलो प्राथमिकता भएको बताए ।

शनिबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको बताएका हुन् ।

‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो’, कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली संकलन र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनको भनाइ थियो ।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशील सदस्यको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’ मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।