दाङ,१० चैत ।
दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो करिब दुई बजेको समयमा राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोकमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेका छन् ।
हजुरआमा र नाति घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए ।
करेन्ट लागेर ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । एक्कासी बिजुली तार चुँडिएर उनको घरको आँगनमा पुग्दा करेन्ट लागेको बताइएको छ ।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








