काठमाडौं,३१ असाेज ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले अज्ञात स्थलबाट वक्तव्य जारी गरेका छन् । आफूलाई पक्राउ गर्दैमा वचतकर्ताकाे रकम फिर्ता नहुने उनकाे टिप्पणी छ ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई उक्त प्रकरणसँग जोड्नु उचित नभएको बताएका छन् । गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने उनले स्पष्ट पारेका छन् ।

राईले गोर्खा मिडिया नेटवर्क आफ्नो भएको र सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि आफ्नै भएको उल्लेख गरेका छन् ।

‘गोर्खा मिडिया नेटवर्क मेरो हो, म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन, समाधानको जिम्मेवारी पनि मेरो हो,’ राईले आफ्नो वक्तव्यमा भनेका छन् ।

कर्मचारी वा अन्य व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम वा कागजातको दुरुपयोग भएको हुन सक्ने भन्दै उनले त्यस्ता विषयमा अरू व्यक्तिलाई अनावश्यक रूपमा जोड्न नहुने धारणा राखेका छन् ।

राईले ग्यालेक्सी टेलिभिजनलगायत केही कम्पनीमा सहकारीको रकम लगानी गरिएको स्वीकार गर्दै ती कम्पनीले अपेक्षित प्रतिफल दिन नसकेको बताएका छन् । आर्थिक अवस्था बिग्रँदै जाँदा केही कम्पनी धराशायी भएको र बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

कोभिड–१९ महामारीपछिको आर्थिक मन्दी र रुस–युक्रेन युद्धले अर्थतन्त्रमा पारेको प्रभावका कारण ऋण असुली प्रभावित भएको उनको दाबी छ ।

बचतकर्ताको रकम र ब्याज सुनिश्चित गर्ने उद्देश्यले केही निजी कम्पनीमा लगानी गरिएको भए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उनले उल्लेख गरेका छन् ।

राईले आफ्नो पक्राउ नै सहकारी समस्याको समाधान नभएको बताएका छन् । आफू उपस्थित भएर कानुनी प्रक्रिया स्वीकार गर्न तयार रहेको उनकाे प्रतिवद्धता छ ।

‘सरकारलाई आग्रह छ, मेरो खोजलाई शक्ति-संयन्त्र प्रयोग गर्न पर्दैन, म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु,’ उनले वक्तव्यमा भनेका छन् ।

उनले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गाजमिनको व्यवस्थापन गरेको पनि बताएका छन् । आवश्यक परे उक्त सम्पत्ति वा अन्य विकल्प प्रयोग गरेर बचतकर्ताको रकम फिर्ता गर्ने र आफ्नो दायित्व पूरा गर्ने उनको भनाइ छ ।

राईले आफू जीवनभर लुकेर भागेर हिँड्न नचाहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन् । आर्थिक मुद्दामा जोडिएका फरार व्यक्तिहरूलाई थुन्नेभन्दा समस्या समाधान गर्ने योजना सरकारले ल्याए आफूजस्ता धेरै व्यक्ति स्वदेश फर्किन इच्छुक हुने उनको दाबी छ ।

राईले सहकारी संस्थाहरू संकटमा पर्नुमा आर्थिक मन्दीसँगै राज्यको व्यवहार र नियमन प्रणालीसमेत जिम्मेवार रहेको आरोप लगाएका छन् । सहकारीमाथि राजनीतिक स्वार्थका कारण प्रहार भएको उनको दाबी छ ।

यद्यपि, उनले वर्तमान सरकारले बचतकर्ताको बचत सुरक्षित गर्न अघि बढाएका कदमलाई स्वागतयोग्य र सकारात्मक भनेका छन् । वास्तविक रूपमा जिम्मेवार व्यक्तिको पहिचान गरी निर्दोष व्यक्तिहरू अन्यायमा नपर्ने वातावरण बनाउन पनि उनले सरकारसँग आग्रह गरेका छन् ।

ओखलढुंगाको सामान्य राई परिवारबाट आएको बताउने उनले आफ्नो व्यवसाय र कारोबार राज्यको व्यवहारका कारण बिग्रिएको दावी गरेका छन् । आफूलाई मिडिया र समाजले देशकै इतिहासको सबैभन्दा ठूलो अपराधीका रूपमा चित्रण गरेको उनको गुनासो छ ।

वक्तव्यको अन्त्यमा उनले सहकारीका पूर्व तथा वर्तमान सञ्चालक, कर्मचारी र शुभेच्छुकहरू आफूले नगरेको कामका कारण पीडित भएको भए क्षमायाचना गरेका छन् ।