काठमाण्डौ,१६ साउन ।
सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज घटनापछि तनावग्रस्त बनेका मधेश र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ । उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो ।
तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यु खुकुलो पार्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले १० वटा पालिकामा लगाएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न निषेध गरिएको छ । यस्तै धनुषाको जनकपुर क्षेत्र र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ । सिरहाको गोलबजारमा भने कर्फ्यु यथावत् छ । गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ ।
आपत्कालीन स्थितिमा शान्ति–सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कडा आदेश कर्फ्यु हो । यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घरबाहिर निस्कन, सडकमा हिँड्न, वा गाडी चलाउन पाइँदैन । कर्फ्यु उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्ने सम्मको कडा कानुनी अधिकार पाएका हुन्छन् । निषेधाज्ञा कर्फ्युभन्दा अलि खुकुलो र नियन्त्रित व्यवस्था हो । यसमा अत्यावश्यक काम वा तोकिएको समयमा हिँडडुल गर्न छुट हुन्छ तर, धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ ।
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कारबाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन । सुनसरीको कप्तानगञ्जमा गएको आइतबार राती भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढेपछि प्रशासनले कर्फ्यु तथा निषेधाज्ञा लागू गरेका थिए ।
प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति–सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।






