कैलाली,३१ जेठ ।
कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा टेम्पोलाई भीरबाट खसालिएको घटनामा संलग्न १० वन कर्मचारी पक्राउ परेका छन् ।

भीरबाट टेम्पो खसालिएकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयले चासो देखाएकाे थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयले चासो देखाएपछि प्रहरीले घटनामा संलग्न १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका सबै वन रक्षक तहका जुनियर कर्मचारी हुन् । घटनापछि जिल्ला वन अधिकृत रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन् । वन क्षेत्र अतिक्रमण गरी टेम्पोमा खोका पसल सञ्चालन भइरहेको भन्दै हटाउने क्रममा टेम्पो भीरमा खसेको वन कार्यालयको दाबी गरे पनि भिडियो सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिनको माग चर्किएको छ ।