सल्यान,२५ वैशाख ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका –२ भुसखोलास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार दिउँसो करिब १ः३० बजे फारुलाचौरबाट भुसखोलातर्फ जाँदैगरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ निवासी ग्वाजो कामीका १७ वर्षीय छोरा प्रदीप विक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्यचौकी दार्मामा लगिएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा सोही स्थानका १७ वर्षीय टेकबहादुर विक सामान्य घाइते हुनुभएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै,२२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दार्मा, सल्यानबाट प्रहरी सहायक निरीक्षक बुद्धी साउँदको कमाण्डमा तीन जनाको टोली जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा पाँच जना प्रहरी खटिएको प्रहरीले जनाएको छ ।








