बुटवल,२२ बैशाख ।
रूपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसाेबासीहरूले यही बैशाख २४ गते बिहीबार बुटवलमा बृहत जनप्रदर्शन गर्ने तयारी गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष समिति रूपन्देहीले मंगलबार बुटवलमा पत्रकार भेटघाट गरि बृहत जनप्रदर्शनकाे तयारी बारे जानकारी गराएको हो ।
सरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान तिब्र बनाउन थालेपछि रूपन्देहीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसाेवासी संगठित भएर प्रदर्शनमा उत्रिन लागेका हुन् ।
संघर्ष समितिका संयोजक खड्क बहादुर पाैडेलले नागरिकको गाँस,बास र कपासकाे व्यवस्थापन गर्ने आफ्नो जिम्मेवारी र दायित्व भुलेर सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित वसाेवासीलाई घरबारविहीन बनाउन थालेकाले सरकारी कदमकाे बिराेधमा जनप्रदर्शन गर्न लागिएको बताए ।
हजारौंकाे सहभागीतामा जनप्रदर्शन गर्ने तयारी भइरहेको भन्दै उनलेे त्यसपछि पनि आफुहरूका माग सुनुवाइ नभए थप संघर्षका कार्यक्रम घाेषणा गरिने बताए ।
संघर्ष समितिका अगुवा नरेन्द्र दर्जीले बिना विकल्प आफुहरूलाई हटाउन थाले ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
आफुहरूकाे बसाेबास हटाइए जस्तोसुकै संघर्षमा उत्रिन बाध्य हुने उनिहरूकाे चेतावनी छ ।
अन्यत्रकाे भन्दा रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसाेवासी समस्या फरक भएको भन्दै उनिहरूले यसअघिका सरकारहरूसँग भएका सहमति र सम्झौता बर्तमान सरकारले उल्ट्याउन नमिल्ने तर्क गरे । पहिला व्यवस्थापन गरेर मात्रै वस्ती हटाउनुपर्ने बताए ।
संघर्ष समितिले स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै माग पुरा नभए ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
राजधानी काठमाडौंबाट सुकुम्बासी बस्ती खाली गराउन थालेको सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरि सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएपछि उनिहरू संगठित भएका हुन् ।
नेपाल भूमिहीन,सुकुम्बासी,अव्यवस्थित संघर्ष समिति रूपन्देहीको नाममा संगठित भएका उनिहरूले खड्क बहादुर पाैडेलकाे अध्यक्षतामा २३ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।








