नवलपरासी १६ बैशाख ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले महङ्गी वृद्धि एवं सुकुम्बासीलाई ब्यवस्थापन गर्न माग गर्दै ७ बुदें ज्ञापनपत्र बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत पार्टीले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सरकारले फाँसीवादी कदम चालेको उल्लेख गर्दै भुमिहीन सुकुम्बासीलाई विना विकल्प हटाउन नहुने, दलित समुदायमा माथि भइरहेको भेदभाव एवं ज्यादती बन्द हुनुपर्ने माग समाबेश छन् । साथै उक्त ज्ञापनपत्रमा बिद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नहुने, किसानलाई मल बिउ, सिंचाइ, युवालाई रोजगारलगायतका माग अगाडि सारिएको छ । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले ज्ञापनपत्र बारे प्रष्ट पारेका थिए ।
त्यस क्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले ज्ञापनपत्रवाचन गरेका थिए । ज्ञापनपत्र बुझ्दै नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले ज्ञापनपत्रलाई सम्बन्धित कार्यालय र मन्त्रालयमा पठाउने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा पार्टीका नेताहरु जिल्ला कार्यालय सदस्यद्व्य गणेश बहादुर ढकाल,दुर्गा नारायण चौधरी,जिल्ला सदस्य प्रेम रिमाललगायत सहभागी रहेको साे पार्टीले जनाएको छ ।








