काठमाडौँ,२९ चैत ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई अपमानजनक शब्द प्रयोग गरी भिडिओ बनाएको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेल रिहा भएका छन् ।

चाैतर्फी आलोचना भएपछि पोखरेललाई प्रहरीले छाडेको हो ।

पुराना सरकारले जस्तै आवाज दबाउन खोजेको भन्दै व्यापक आलोचना भएसँगै रिहा गरिएको छ । उनीविरुद्ध अनुसन्धान गर्न प्रहरीले गत शुक्रबार १० दिन म्याद थप गरेको थियो । तर आलोचना बढेपछि आइतबार रिहा गरिएको हो ।

पोखरेललाई प्रहरीले पक्राउ गरेपछि केहि जेनजी अगुवाहरूले आपत्ति जनाएका थिए ।

जेनजी मुभमेन्ट नेपालका प्रबक्ता विजय शाहले विज्ञप्ति नै जारी गरेर पोखरेललाई तत्काल छोड्न माग गरेका थिए ।

जेनजी अगुवा तनुजा पाण्डेले पनि प्रधानमन्त्री शाहले विगतमा र्‍याप ब्याटल गर्दा महिला र एलजीबीटीआईक्यु समुदायको अपमान हुने किसिमका शब्दहरूको प्रयोग गरी दिएको अभिव्यक्तिप्रति स्वीकारोक्ति र माफी माग्नुपर्ने भन्दै र्‍यापब्याटल भिडियो नै सार्वजनिक गरेकी छिन् ।

राजनीतिक व्यक्तिबारे टिकाटिप्पणी गरेकै आधारमा पोखरेल गिरफ्तार भएपछि प्रधानमन्त्री आफूचाहि नबोल्ने अनि बोल्नेलाई समात्ने भन्दै जेनजीहरूले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत प्रश्न गरेका थिए ।

यस्तै जेनजी अगुवा भावना राउतले पनि कसैको कुरा प्रति असहमति देखाउने अन्य तरिका पनि रहेको तर, ‘मन परेन, त्यसैले जेल’ भन्ने भाष्य लोकतन्त्रको लागि खतरा भएको भनेर सामाजिक सञ्जालबाट आवाज उठाएकी थिइन् ।

तर,जेनजी अगुवा रक्षा बमले भने युट्यबरले बोलेको कुरालाई प्रोत्साहन नगरेकै राम्रो हुने टिप्पणी गरेकी छिन् ।

रोशनले ‘hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाहलाई गालीगलौज गरेर कन्टेन्ट बनाएको भन्दै बिहीबार प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।

उनी फाल्गुनन्द गाउँपालिका ७ घर भई सदरमुकाम फिदिममा बस्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, उनले सार्वजनिक रूपमा प्रधानमन्त्री तथा अन्य नेताहरूको बेइज्जत हुने सामग्री युट्युबमा हालेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।