बुटवल,१४ चैत ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको बिराेधमा रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको छ ।
शनिबार अपरान्ह एमाले जनवर्गीय संगठनहरूकाे आह्वानमा बुटवलकाे मिलनचोकमा बिराेध प्रदर्शन गरेका हुन् ।
प्रदर्शन अनियन्त्रित हुनसक्ने आशंकामा ठूलो संख्यामा शुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । तर प्रहरीको आकलन भन्दा प्रदर्शनकारीहररू निकै कम सहभागी रहेका थिए ।
मिलनचोक हाईवेमै नाराबाजी र कोणसभा भैरहदा दर्शकहरु भने ठूलो संख्यामा देखिएका थिए ।
प्रदर्शनकारीहरुले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नारा लगाएका थिए ।
गृहमन्त्रीको राजीनामा नआउँदासम्म प्रदर्शन नरोकिने एमाले रुपन्देही उपसचिव बाबुराम पन्थीले बताए । युवासंघका केन्द्रीय सदस्य कृष्ण कुमालले अन्यायपूर्ण र गैरकानुनी रुपमा पार्टी अध्यक्ष र कांग्रेस नेतालाई पक्राउ गरिएको भन्दै उनीहरुलाई अबिलम्ब रिहा गर्न माग गरे ।








