कपिलवस्तु,१० चैत ।
कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटेको छ ।
जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । ‘विवाद साम्य भएको छ, शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ,’ घिमिरेले भने, ‘आज बिहान ९ बजेदेखि निषेधाज्ञा हटाएका छौँ ।’
चैत ७ गते चर्को आवाजमा भवन गरेको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो ।
तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो । स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो ।
आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन् ।








