कपिलवस्तु,८ चैत ।
कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन । निषेधाज्ञाका बाबजुद कपिलवस्तुको महराजगञ्जका केही ठाउँमा अहिले पनि स्थानीय युवाले प्रदर्शन जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक प्रकाश कुँवरले अहिले पनि केहि ठाउँमा प्रदर्शन भइरहेको जानकारी दिए । प्रदर्शन रोक्न केही ठाउँमा लाठीचार्ज समेत गरिएको बताए ।
मुस्लिमहरूले इद मनाउँदै गर्दा शनिबार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदाय बिचमा झडप भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए भने केही प्रहरी घाइते भएका थिए । स्थानीय प्रशासनले हिजो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
विवाद साम्य पार्न दुवै पक्षसँग छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।








