कपिलवस्तु,७ चैत ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले सूचना जारी गरि निषेधाज्ञा लगाएको जनाएको हो । शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, २०८२/१२/७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगन्ज नगरपालिकाका देहायका क्षेत्रहरूमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

स्थानीय प्रशासनले पूर्वमा बर्गदी पुल,पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार, महाराजगन्जमा शनिबार चर्को स्वरमा भजनकीर्तन गरिएको विषयमा विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएर दुई समुदायबीच तनाव उत्पन्न भएपछि निषेधाज्ञा जारी गर्नुपरेको हो ।