बुटवल,२३ फागुन ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेको नीति,नेतृत्व,संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरुप पुनर्गठन गर्न अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रूपन्देही–२ को निर्वाचन परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत रास्वपाका उम्मेदवार सुलभ खरेललाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले एमालेको नीति, नेतृत्व, संगठनको कायैशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई आह्वान गर्दै उनलेे राजनीति यात्रामा उतार चढाव आइरहने उल्लेख गरेका छन् ।
पार्टी र आफ्ना तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न,जनअपेक्षाअनुरुप आफैलाई रुपान्तरण गर्ने उनको प्रतिबद्धता छ ।‘विगतमा हाम्रा तर्फबाट भएका गल्तीकमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफैलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही–२ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्छु ।’
निर्वाचनमा हार र जित स्वाभाविक प्रक्रिया भएको जनाउँदै उनलेे रुपन्देही र विशेष गरी क्षेत्र नंम्बर २ आफ्नो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि भएको उल्लेख गरेका छन् ।






