खाेटाङ,२५ माघ ।
खोटाङमा बिहे भोज खाएका एकसय भन्दा धेरै गाउँले बिरामी परेका छन् । बिरामी परेकामध्ये केहीको गम्भीर रहेको छ ।

जिल्लाकाे जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका सबै गाउँले बिरामी परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर राजु बिष्टले जानकारी दिए ।

बिहे भोज खाने सबै गाउँले बिरामी परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट इन्सपेक्टर विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली पठाएकाे र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको उनलेे बताए ।

स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको यही माघ २१ गते विवाह भएको थियो । घरमा बेहुली भित्र्याएपछि राई परिवारले माघ २२ गते गाउँलेका लागि भोजको आयोजना गरेका थिए ।

पाहुना र गाउँले गरि झण्डै डेढसय जनाले मासुभात, दाल तरकारी, अचारसहितको भोज खाएका थिए ।

भोज खानेजति सबै बिरामी परेको खबर आएको इन्सपेक्टर बिष्टले बताए ।

भोज खानेलाई ‘फुडपोइजन’ भएको स्वास्थ्यकर्मीले आशंका गरेका छन् । स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेल पनि घटनास्थलमा पुगेका छन् ।

स्थानीय सुजना राईको घरमा शिविर राखेर अहिले बिरामीको उपचार भइरहेको छ । भण्डै ३० जनाको अहिले उपचार चलिरहेको प्रहरीले जनाएको छ । चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट गएका ७ जना स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन् ।

बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताए ।

शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । भोज खाएर काठमाडौँ आएका एकजना बिरामी उपचारको लागि टेकुमा भर्ना भएका छन् । बिरामीमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने जस्ता समस्या देखिएको स्वास्थ्यर्मीले बताएका छन् ।

फुडप्वाइजनको कारण बेहुला र बेहुलीसमेत बिरामी परेका छन् । उनीहरू सहितका बिरामीलाई स्लाइनपानी,जीवनजल लगायतका औषधि दिएर उपचार भइरहेको छ ।