अनिलकिशोर घिमिरे

कवि भावना खनालको भाव सङ्गम कविता–संग्रहको विमोचन समारोहमा सहभागी हुने सौभाग्य मिलेन । त्यस क्षणमै कृतिसँग आत्मीय साक्षात्कार गर्ने अवसर पनि प्राप्त हुन सकेन । तथापि, उक्त कृतिले बोकेको भाव–भार र शीर्षकले नै जगाएको कौतुहलता मनको कुनामा लामो समयसम्म चुपचाप बास बसेर रहिरह्यो । एउटै नगरभित्र रहेर पनि पुस्तक हात पार्न नसक्नुले त्यसप्रतिको जिज्ञासा झन् तीव्र बन्दै गयो ।
अन्ततः एक साँझ, टुँडिखेलको झिसमिसे उज्यालो र हल्का हावाको साक्षीमा, कविकै सुन्दर र स्नेहिल हातबाट भाव सङ्गम प्राप्त गरेको क्षणले त्यो प्रतीक्षालाई अर्थपूर्ण बनायो । पुस्तक हातमा पर्दा मात्र होइन, मनमा पर्दा पनि छुट्टै स्पन्दन जाग्यो । किनकि साहित्यिक कृति केवल कागज र अक्षरको संयोजन होइन, त्यो लेखकको अनुभूति, चेतना र जीवनदृष्टिको सजीव प्रतिबिम्ब हो ।
हातमा पुस्तक परेपछि त्यसको आवरणभित्र लुकेको गुदी नखोतली मनले सुख पाउने प्रश्नै उठ्दैन । शीर्षकले संकेत गरेको भावको सङ्गम, शब्दहरूभित्र थुनिएका अनुभूति र कविको अन्तरमनले बोलेका स्वरहरू सुन्ने आतुरताले पानापाना पल्टाउन बाध्य बनायो । यही उत्सुकता, यही तृष्णा र यही आत्मीय आकर्षणका बीच भाव सङ्गमसँगको मेरो पाठकीय यात्राले प्रारम्भ पायो ।
कवि भावना खनालको भाव सङ्गम कविता–संग्रह केवल कविताहरूको संकलन होइन यो समकालीन नेपाली समाजको चेतनशील दस्तावेज हो । शिक्षण पेशामा आबद्ध रहँदै साहित्य साधनामा निरन्तर लागिरहेकी भावना खनाल असल शिक्षिका मात्र होइनन्, अनुभूतिलाई शब्दमा रूपान्तरण गर्न सक्ने शषक्त र जिम्मेवार कवि पनि हुन् भन्ने कुरा यस कृतिले स्पष्ट प्रमाणित गर्छ । भावनाका कविताहरूले जीवन, समाज, राजनीति, नारी चेतना, राष्ट्रप्रेम, संस्कृति र मानवीय पीडाको बहुआयामिक चित्र प्रस्तुत गर्छन् ।
भाव सङ्गमको मूल शक्ति यसको भावनात्मक गहिराइ र सामाजिक प्रतिबद्धतामा निहित छ । कविका कविताहरू आत्माभिव्यक्तिमा मात्र सीमित छैनन् ती समाजप्रति प्रश्न गर्छन्, चेतावनी दिन्छन् र आशाको दियो पनि बाल्छन् । समृद्ध नेपाल शीर्षकको कविता यस संग्रहको वैचारिक उचाइको प्रतिनिधि नमुना हो जहाँ कवि लेख्छिन्
“ठाडो शीर्ष र स्वाभिमान रहँदा रङ्गिन्छ धर्ती अनि
निस्वार्थी बन सिर्जना गरिरहे फुल्नेछ माटो पनि।
हाम्रा साधा सीमा गुमे दशकजा पर्नेछ फिर्ता लिन
बिर्सन्नौं इतिहासमा रगतका खोला बगेका दिन ।”
यी हरफहरू केवल कविता मात्र होइनन्, राष्ट्रको आत्मासँग गरिएका संवाद हुन् । स्वाभिमान, सीमा, इतिहास र बलिदानका स्मृतिले भरिएका यी पंक्तिहरूले पाठकको चेतनामा देशप्रेमको गहिरो स्पन्दन जगाउँछन् ।
नारी चेतनाको सवालमा नारी कविता अत्यन्त प्रभावशाली देखिन्छ । कवि महिलालाई कमजोर होइन, उड्न सक्ने साहसी अस्तित्वका रूपमा प्रस्तुत गर्दै भन्छिन् –
“चढ्नै पर्छ तिमी उडेर नभमा, धर्ती नबन्नु अब…”
यस पंक्तिले नारी आत्मसम्मान, आत्मनिर्भरता र साहसको सशक्त सन्देश दिन्छ ।
सामाजिक यथार्थ र पीडाको चित्रणमा सम्झनामा आमा, वृद्धा अवस्था र परदेशी जस्ता कविताहरू अत्यन्त मार्मिक छन् ।
सम्झनामा आमा कवितामा अभाव, टुहुरोपन र भोकको पीडालाई कविले यसरी उतारेकी छन् कि पाठक अनायासै भावुक हुन्छन् । वृद्ध आमाबाबुलाई आश्रम पठाउने आधुनिक समाजप्रतिको कटाक्ष वृद्धा अवस्था कवितामा गहिरो संवेदनासहित प्रस्तुत भएको छ ।
“सानैमा टुहुरो भएर अति नै भोकै र नाङ्गै रहे
रित्तो थियो झुपडी तनाव कति भो खाते मगन्ते भए
मिठो खान लगाउने रहर त्यो आकाशभन्दा पर भोको पेट बसे
अभाव कति थियो कसले बुझेको छ र”
यी हरफहरू केवल व्यक्तिगत पीडाको बयान होइनन्, गरिबीले थिचिएका हजारौँ आमाहरू र सन्तानहरूको मौन चित्कार हुन् । यहाँ कविता आँसु बनेर बग्छ, तर त्यही आँसुबाट मानवीय संवेदनाको उज्यालो पनि देखिन्छ ।
राजनीति र नैतिक पतनप्रति कविको स्वर झन् तीखो छ । भ्रष्टाचार, कार्यकर्ता र सीमा सुरक्षा गर जस्ता कवितामा सत्ता मोह, चुनावी भाषण, राष्ट्रघात र नैतिक विचलनमाथि निर्भीक प्रहार गरिएको छ । सीमा सुरक्षा गर कवितामा कवि चेतावनी दिन्छिन् – मानवता, सज्जनता र नैतिकता गुम्दै गएको समाजलाई अब एकजुट हुन आह्वान गर्दै ।
प्रेम, जीवन र निजी अनुभूतिका कविताहरूले संग्रहलाई अझ मानवीय बनाएका छन् । दौतरी, गुनासो, कहानी र उडान जस्ता कवितामा प्रेमको मिठास, धोका, निराशा र आत्मसंघर्षका भावहरू सरल तर गहिरो भाषामा अभिव्यक्त छन् । यी कविताले पाठकलाई आफ्नै जीवनका अनुभूति सम्झन बाध्य बनाउँछन् ।
नैतिकता र आत्मचेतनाको प्रश्न सदिक्षा कवितामा गम्भीर रूपमा उठाइएको छ । बाह्य धार्मिक कर्मकाण्डभन्दा असल कर्म र सद्भावलाई प्रधानता दिनु पर्ने सन्देश कविले यसरी दिन्छिन्–
“सुकर्म थालौँ कुकर्म त्यागौं बचाउँ देव भने तरिन्छ
सुभाव सोचौँ कुभाव त्यागौं, र देव सम्झ जसो गरिन्छ”
यहाँ कविता उपदेशात्मक नभई आत्मचिन्तनात्मक बन्छ, जसले पाठकलाई आफ्नै जीवनतर्फ फर्केर हेर्न बाध्य बनाउँछ ।
जिन्दगी कवितामा जीवनको क्षणभङ्गुरता र भौतिक उपलब्धिको सीमालाई दार्शनिक भावनामा प्रस्तुत गरिएको छ ।
“सुन्दर जिन्दगी छ रसिलो भन्दै रमाए पनि
सक्ने छैन म मृत्यु जित्न रुपैयाँ लाखौं कमाए पनि”
यी पंक्तिले जीवनको अन्तिम सत्यलाई सरल तर गहिरो स्वरमा उद्घाटित गर्छन् । अन्ततः बाँकी रहने सम्झना र प्रेम मात्र हुन् ।
प्रेम र सम्बन्धको विडम्बनालाई गुनासो कविताले अत्यन्त मार्मिक रूप दिन्छ ।
“भयो झुटो नाता मन नजिक थियो भन्न सकिन
सधैं जुत्ता ठान्यौ नरम तकिया बन्न सकिन”
यहाँ प्रेम केवल रोमान्टिक अनुभूति होइन, घाउ र मौन पीडाको कथा पनि बन्छ ।
त्यसको ठीक विपरीत, उडान र सपना कवितामा आशा, प्रेम र सिर्जनात्मक उडानको उज्यालो पक्ष देखिन्छ ।
“मायाले दरबार बन्छ झुपडी संसार देखिन्छ रे
भावी लेख्छ ललाटमा मनभरि संगीत लेखिन्छ रे”
यी हरफहरू जीवनप्रति आशावादी दृष्टिकोण र प्रेमको रूपान्तरणकारी शक्तिको सुन्दर अभिव्यक्ति हुन् । सपना कवितामा त संघर्षबाट सौभाग्यतर्फ उड्ने मानवीय आकांक्षा कवितात्मक सौन्दर्यमा परिणत हुन्छ ।
भाषा, शिल्प र भावको संयोजनमा भाव सङ्गम सहज, प्रवाहमय र बिम्बात्मक देखिन्छ । कविले कठिन दर्शनलाई पनि सरल शब्दमा प्रस्तुत गरेकी छन्, जसले कविता सबै तहका पाठकसम्म पुग्ने बनाएको छ । भाषिक रूपमा भाव सङ्गम सरल, स्वाभाविक र बिम्बात्मक छ । पाल्पाको प्राकृतिक सौन्दर्य, हिमालको गौरव, लुम्बिनीको पवित्रता र रानी महलको ऐतिहासिक आभाले कवितामा सांस्कृतिक र भौगोलिक सुगन्ध थपेको छ ।
कवि भावना खनालको भाव सङ्गम कविता–संग्रह समकालीन नेपाली कवितामा भावनात्मक गहिराइ, सामाजिक चेतना र मानवीय संवेदनाको सशक्त अभिव्यक्ति हो । शिक्षण पेशामा आबद्ध रहँदै साहित्यिक साधनामा निरन्तर सक्रिय भावना खनाल असल शिक्षिका मात्र नभई जीवनका सूक्ष्म पीडा, आशा र संघर्षलाई कवितामा रूपान्तरण गर्न सक्ने यथार्थबादी कवि हुन् भन्ने कुरा यस संग्रहले प्रमाणित गर्छ । ७६ पृष्ठमा समेटिएका ६० वटा कविताले समाजको कठोर यथार्थदेखि आत्मिक अनुभूतिसम्मको विस्तृत क्यानभास कोरेकी छिन् ।
समग्रमा, भाव सङ्गम कवि भावना खनालको अनुभूति, विवेक र संवेदनाको सुन्दर संगम हो । यस संग्रहका कविताहरू समाजको ऐना बनेर गरिबी, प्रेम, नैतिकता, जीवन र सपनाका कथा बन्नेछन् ।








