धनगढी,१० मंसिर ।
कैलालीस्थित धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा संघका नेता–कार्यकर्ताहरूबिच झडप भएको छ ।

बुधबार एमाले नेता महेश बस्नेत धनगढी आएको विरोधमा जेनजी युवाहरूले प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेपछि युवासंघका कार्यकर्ता र जेनजीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो ।

दुई समूहबीच धकेलाधकेल हुँदा जेनजी समूहका सरिता जोशी घाइते भएको प्रहरीले जनाएको छ । उनको हातमा चोट लागेको र स्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए ।

बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् । बस्नेत आउने थाहा पाएपछि जेनजीहरुले आज बिहान देखिनै धनगढीमा प्रदर्शन गरिरहेका थिए ।

यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाहरुले प्रदर्शन गरेका थिए । जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।