बारा,४ मंसिर ।
बाराको सिमरामा आज पनि जेनजी युवा र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारी युवाहरूबीचको झडपका कारण सिमरा बजार तनावग्रस्त बनेको छ ।
बुधबार नेकपा एमाले निकट युवा संघ र जेनजी युवाबीचको झडपका कारण अशान्त बनेको सिमरा बजार आज पनि तनावग्रस्त बनेको हो ।
सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ ।
जेनजीको हिजोको प्रदर्शनको नेतृत्व गरेकाहरूसँगको समझदारीअनुसार प्रहरीले दुईजनालाई पक्राउ गरिसकेकाे तर, आज पनि प्रदर्शन नरोकिएपछि सडक खुलाउन खोज्दा झडप भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले बताए ।
प्रहरीमाथि चारैतर्फबाट आक्रमण भएपछि अहिले आफुहरू पछि हटेकाे र सडकमा प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ ।
हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ । प्रहरीले भने कुटपिटमा संलग्न रहेको आराेपमा दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।
प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् ।






