धनगढी,१२ भदौ ।
डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाकाे नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् ।

दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको उनलेे बताए । घाइतेहरूकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब सवा नौ बजेतिर जिप दुर्घटना भएको अनुमान छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।